शमशेरविक्रम जि.सी.
प्युठान,१९ असार ।
अहिले पनि प्यूठानका केही गाउँ विद्युत्विहीन छन् । जिल्लाको उत्तरी क्षेत्र गौमुखीका गाउँमा विद्युत् नपुगेको लामो समय भयो । गाउँका स्थानीय अहिले पनि दियालो र टुकीको भरमा गुजारा गरिरहेका भेटिन्छन् । १२ मेगावाट विद्युत् उत्पादन गर्ने झिमरुक जलविद्युत् आयोजनाको पानीको उद्गमथलो गौमुखीमै अहिलेसम्म विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।
वारिपारिका गाउँमा विद्युत् बल्न थालेको वर्षौं भयो । तर, आफूहरूले अहिलेसम्म बिजुली बत्ती देख्न नपाएको गौमुखी गाउँपालिका–१ सागबारीकी रविना रानामगरले सुनाउनुभयो। ‘जंगलको छेउमा घर भएकाले रातको समयमा बाहिर निस्कन निकै मुस्किल छ,’ उहाँले भन्नुभयो, ‘वर्षौंदेखि बिजुली बत्ती कहिले बाल्न पाइएला भनेर कुरेरै बसेका छौं ।’ दुई दर्जनभन्दा बढी घरधुरी रहेको सागबारीमा अहिलेसम्म केन्द्रीय प्रसारणको विद्युत् पुगेको छैन । छिमेकी गाउँमा लघु जलविद्युत् चल्दा पनि गाउँ अँध्यारै थियो । ती गाउँमा केन्द्रीय प्रसारणको विद्युत् आइसक्यो तर सागबारी अँध्यारोको अँध्यारै छ । अहिलेको समयमा पनि अन्धकारमा बस्नुपर्दा आफूहरू जगंली दिनबाट बाहिर आउन नसकेको अनुभव भइरहेको रविनाले सुनाउनुभयो ।
झिमरुक जलविद्युत् आयोजनाको पानीको मुख्य स्रोत गौमुखी र नौबहिनी क्षेत्र हुन् । यहाँबाट बग्ने झिमरुक र लुंग खोलाको पानीले विद्युत् उत्पादन हुने गरेको छ । गाउँबाटै बगेको पानीले विद्युत् निकालिए पनि सागबारीमा अन्धकार छाएको यहाँकी सरस्वती रानाले बताउनुभयो । गाउँकै पानीले विद्युत् निकाले पनि आफूहरू बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएको उहाँको भनाइ छ । यहाँका स्थानीय वर्षौंदेखि टुकीको भरमा गुजारा चलाउँदै आएको उहाँले सुनाउनुभयो । छिमेकी गाउँमा लघु जलविद्युत्मार्फत बत्ती बलेको पनि दुई दशक भएको सरस्वतीले जनाउनुभयो। गाउँमा आयस्ता राम्रो हुनेले सोलार प्यानल जडान गरे पनि धेरैजसो टुकीकै भरमा रहेको उहाको भनाइ छ ।
गाउँमा विद्युत् नहुँदा सागबारीका स्थानीयको दैनिकी मात्रै असहज भएको छैन, बालबालिकाको पठनपाठन पनि प्रभावित भएको छ । ‘बिहान उठेर विद्यालय जान्छौं, फर्किंदा झमक्कै भइसक्छ,’ सागबारीका हुमान राना बिटालुले भन्नुभयो, ‘गाउँमा विद्युत् नहुँदा गृहकार्य र अध्ययन गर्न अप्ठ्यारो भएको छ ।’ आफूहरूले गृहकार्य पनि स्कुलमै सकेर आउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । गाउँमा विद्युत् ल्याउन पहल गरेको सुने पनि अहिलेसम्म काम नभएको उहाँले बताउनुभयो । विद्यालय जाँदा घरबाट मोबाइल चार्ज गर्न लैजाने गरेको उहाँले जनाउनुभयो । ‘एउटा मोबाइल चार्ज गरेको १० रुपैयाँ लाग्छ,’ उ,हाँले भन्नुभयो, ‘त्यसैले पुर्याइपुर्याई चलाउनुपर्छ ।’ कक्षा १० मा अध्ययन गर्ने उहाँलाई स्कुलको पढाइले मात्रै एसईईमा राम्रो अंक ल्याएर पास हुन समस्या पर्ने चिन्ताले अहिलेदेखि नै सताउन थालेको छ ।
अहिले पनि प्यूठानको गौमुखी गाउँपालिका, नौबहिनी गाउँपालिका, स्वर्गद्वारी नगरपालिकाका विभिन्न बस्तीमा केन्द्रीय प्रसारणको विद्युत् पुगेको छैन । प्यूठानको कुल जनसंख्याको १५ प्रतिशत अहिले पनि विद्युत्को पहुँचबाहिर रहेको तथ्यांक छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार जिल्लाका अधिकांश स्थानमा विद्युत् पुगे पनि केही गाउँ अन्धकारमै छन् । जिल्लाको नौबहिनी गाउँपालिकाको खवांग र स्याउलीबांग तथा गौमुखी गाउँपालिकाको अर्खा र रजवारा क्षेत्रमा विद्युत् विस्तारको काम हुन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासले बताउनुभयो । विद्युतीकरण नभएका स्थानमा टेन्डर गरेर विद्युतीकरणको काम भइरहेको उहाँले बताउनुभयो ।
०७८ असार मसान्तमै विद्युतीकरणको काम सक्ने गर्ने गरी जयदुर्गे निर्माण सेवा र मासी कन्स्ट्रक्सनले ठेक्का लिए पनि अहिलेसम्म यी गाउँमा विद्युत् विस्तारको काम भएको छैन । केही गाउँमा विद्युत्का पोल गाड्ने काम सकिए पनि थप काम महिनौंदेखि अलपत्र छ । गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले पनि दुर्गम गाउँ अहिले पनि अन्धकारमै रहेको स्विर्कानुभयो। गौमुखीको केही जनसंख्या अहिले पनि अँध्यारोमै बस्न बाध्य भएको उहाँले बताउनुभयो। विद्युत् विस्तारको कामका लागि पटकपटक पहल गर्न विद्युत् कार्यालयलाई आग्रह गरे पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । ‘अहिलेको समयमा पनि गाउँमा विद्युत् नपुग्नु विडम्बना नै हो,’ उहाँले भन्नुभयो, ‘ठेकेदार सम्पर्कमै छैनन् भन्ने सुनेका छौं ।’ विद्युत् नपुगेका स्थानमा छिटो विद्युत् पुर्याउन पहल गर्न थप प्रक्रियामा जाने तयारीमा रहेको उहाँले सुनाउनुभयो। स्थानीयलाई विद्युत् आउँछ भन्न लागेको वर्षौं भइसक्यो, अहिले त जनप्रतिनिधिलाई गाउँ जानै समस्या होला जस्तो भएको उहाँले बताउनुभयो