शमशेरविक्रम जीसी
प्युठान, २५ असार ।
प्यूठानको झिमरुक नदी आसपासमा ठूलठूला फाँट छन् । उत्तरी क्षेत्र गौमुखीबाट बगेको झिमरुक नदीको दायाँबायाँ दर्जनौं फाँट रहेका छन् । यिनै फाँटमा जिल्लाको खाद्यान्नको करिब ५० प्रतिशत खाद्यान्न उत्पादन हुने कृषि ज्ञान केन्द्रको दाबी छ ।
दर्जनौं फाँटले जिल्लामा खाद्यान्न उत्पादनमा मात्रै टेवा पुर्याएका छैनन्, समथर फाँटले यहाँको सौन्दर्यसमेत बढाएका छन् । बाह्रै महिना सिँचाइ हुने फाँटमा दुई बाली खेती गरिन्छ ।
जेठमा रोपिएको धान बालीका कारण अहिले यहाँका फाँट हरिया बनेका छन् । हरियाली फाँटले त्यस आसपासका क्षेत्रको शोभा बढाएको छ । मानो रोपेर मुरी फलाउने यी फाँट धेरैका लागि जीविका चलाउने माध्यम पनि बनेका छन् । खेत हुनेले धान रोपेका छन् । आफ्नो खेत नहुनेले अँधियामा खेती लगाएका छन् । कतिपयले यही फाँटमा कुटोकोदाली गरेर जीविका धानेका छन् ।
तर, फाँटैफाँटको जिल्ला प्यूठानमा ११ हजार मेट्रिक टन चामल आयात गर्नुपर्छ भन्दा पत्याउनै मुस्किल पर्छ । तर, यथार्थ यही हो । कृषि पेसामा व्यावसायिकता अपनाउन नसक्दा उत्पादनमा ह्रास आइरहेको सरोकारवालाहरू बताउँछन् । सौन्दर्यसँग जोडिएको प्यूठानका फाँट संरक्षणमा सरोकारवालाले चासो देखाउनुपर्ने बहस समय–समयमा उठ्ने गरेको छ । तर, त्यसको कार्यान्वयन नभएको नागरिक समाज प्यूठानमा अगुवा सुमन सुवेदीले बताउनुभयो । स्थानीय तहले नेतृत्व लिएर फाँटको बचाउमा लाग्नुपर्ने हो । तर, उनै जनप्रतिनिधिलाई फाँट बचाउनेतर्फ चासो नै छैन । तत्कालीन समयमा जिल्ला विकास समितिमार्फत झिमरुक फाँट संरक्षणको बहस सुरु भएको हो । तर, अहिलेसम्म त्यो विषय छलफल र सामान्य बहसभन्दा माथि उठ्नै सकेको छैन । सरोकारवालाकै संलग्नतामा फाँट मास्ने काम भइरहेको सुवेदीले बताउनुभयो । ‘फाँटको अस्तित्व जोगिएमात्रै प्यूठानको साख जोगिन्छ,’ उनले भने, ‘तर, फाँटको महत्त्व बुझाउन सकेका छैनौं ।’ फाँट मासिंदा आइपर्ने समस्याका बारेमा बुझाउन नसक्दा फाँटको बीच–बीचमा घरहरू बनाउने बढेका छन् । गाउँबाट बेसी झरेर अव्यवस्थित फाँटमा घर बनाउनेलाई नरोकेसम्म फाँट मासिन नरोकिने उहाँले बताउनुभयो ।
प्यूठानका फाँटहरूमा अहिले वार्षिक तीन सय घर बन्ने गरेका छन् । माथिल्ला बस्तीबाट बेसी झर्ने र यतै घर बनाएर बस्दा फाँट मासिंदै गएका हुन् । ‘यहाँका दर्जनौं फाँटले जिल्लाको शाख बचाउने काम गरेका छन् । तर, हामीले त्यसलाई खेतमात्रै बुझेका छौं,’ ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले भन्नुभयो, ‘माथिल्लो क्षेत्रमा बस्ती बसालेर फाँटहरू जोगाइराख्नुको विकल्प नै छैन ।’ ऐरावती गाउँपालिकाभित्रका जाडीको फाँट, बरौला फाँट, चुकाहा फाँट, हरियाखोला फाँटलाई बचाउन योजना नै बनाएर लागिपरेको उहाँले सुनाउनुभयो। ‘फाँट बचे अन्न फल्छ, नत्र कहिलेसम्म किनेर खाने हो भनेर सूचना दिने गरेका छौं,’ उनले भने । फाँटको संरक्षण गर्न जग्गा वर्गीकरणमा चुक्न नहुने प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताउनुभयो । फाँटलाई बस्ती नभई कृषि क्षेत्रका रूपमा वर्गीकरण गर्ने काम भइरहेको उनले बताए । ‘वर्गीकरणको काम अझै टुंगिएको छैन,’ उहाँले भन्नुभयो, ‘अधिकतम फाँट बचाउने प्रयास भइरहेको छ ।’

आफ्नो जमिन प्रयोग गर्न रोक लगाउने कानुन आफ्नो हातमा नभएको उहाँले बताउनुभयो । ‘यसले गर्दा फाँट मासिंदै छन्,’ उहाँले भन्नुभयो, ‘पहिले डाँडामा बसेर फाँटमा खेती गर्नेहरू नै आफ्नो खेतमा घर बनाएर बेसी झर्दै गरेका छन् ।’ नगरपालिकाले जग्गा बाँझो नराख्न अनुरोध गरे पनि गाउँमा खेती किसानी गर्ने युवाहरू वैदेशिक रोजगारीमा रहेका कारण वृद्ध, महिला, केटाकेटीले खेती किसानी गर्न नसक्ने भएकाले फाँटमा झरेर घर बनाउनेहरू बढेको बर्मा बताउँनुहुन्छ । ‘माथिल्ला क्षेत्रमा आवास र फाँटमा खेती गर्ने गरी एकीकृत नमुना बस्तीको अवधारणा सुरु गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यो अभियानसँगै नगरपालिका क्षेत्रको कृषियोग्य जमिनमा प्लटिङ गर्ने कम भएका छन् ।’
स्थानीय तहहरूले जग्गा वर्गीकरणको काम सुरु गरेपछि प्यूठानका फाँटहरू जोगिने आशा धेरैलाई लागेको छ । जग्गाको वर्गीकरण गर्दा कृषि र गैरकृषि क्षेत्र छुट्याएपछि त्यसको उपयोगिता पनि बढ्ने प्यूठान नगरपालिका–७ टिकुरीका सञ्जय रिजालले सुनाउनुभयो । ‘फाँट बचाउने स्थानीय तहको पहिलो प्रयास हुनुपर्थ्यो,’ उहाँले भन्नुभयो, ‘जति ढिलाइ गर्यो उति नै समस्या हुने देखिन्छ ।’ फाँटको संरक्षण गर्न सके हरियाली फाँट जिल्लाको सौन्दर्यको प्रतीक बन्ने उहाँले बताउनुभयो ।
फाँटैफाँटको जिल्ला
झिमरुक नदीको उद्गम थलो गौमुखीबाटै फाँटहरू बन्न सुरु गरेका छन् । झिमरुक र माडी नदीको संगम ऐरावतीसम्म झिमरुक नदी किनारमा दर्जनौं सानाठूला फाँट छन् । गौमुखीबाट बनेको फाँट ऐरावतीसम्म पुग्दा दुई दर्जन बढी छन् । यहाँको सबैभन्दा ठूलो फाँट झिमरुक फाँट हो । झन्डै १२ किलोमिटर क्षेत्रफलमा फाँट फैलिएको प्यूठान नगरपालिका–३ रातामाटाका मुक्तिप्रसाद सुवेदीले बताउनुभयो । ‘फाँट देख्दा मनै चौडा भएर आउँछ,’ उहाँले भन्नुभयो, ‘अन्य पहाडी जिल्लामा यस्ता ठूला फाँट विरलै देख्न पाइन्छ ।’ प्यूठानमा गाउँ र हरेक बेसीमा फाँट बनेका छन् ।
प्यूठान घुम्न आउनेहरूका लागि पनि प्यूठानको फाँट मुख्य आकर्षण बनेको छ । जिल्ला भित्रिने जोकोहीले प्यूठानमा यतिठूला फाँट रहेकामा अचम्म मान्ने गरेको सुवेदी सुनाउँनुहुन्छ । ‘पहाडी जिल्लामा पनि यस्तो, ल कति मनमोहक भनेर सुनाउँछन्,’ उहाँले भन्नुभयो, ‘बाहिरबाट आउनेलाई पहाडी जिल्लामा पनि यति ठूला फाँट भन्ने लाग्दो हो ।’ यिनै सुन्दर फाँटले जिल्लाको गरिमा बढाएको उहाँ बताउनुहुन्छ। जिल्लामा रहेका यी फाँट खाद्यान्नका मुख्य स्रोत हुन् । तर, पछिल्लो समय फाँटहरू मासिने क्रम बढे पनि सुवेदीको मनमा चिसो पसेको छ । फाँट जोगिएमात्रै जिल्लाको सुन्दरता जोगिने उनको अनुभव छ ।

प्यूठानमा सानाठूला दुई दर्जन फाँट छन् । त्यसमध्ये झिमरुक उपत्यकाको फाँट सबैभन्दा ठूलो छ । प्यूठान नगरपालिका–८ दम्तीबाट सुरु भएको फाँट प्यूठान नगरपालिका–१ दाखाक्वाडीसम्म फैलिएको छ । यही फाँटको बीचमा नगरपालिकाका ७, ४, ३ र २ नम्बर वडा पर्छन् । त्यसबाहेक खैराको फाँट, बरौला फाँट, चिसाबाङ फाँट तथा मच्छीको पिडाल्ने ठूला फाँट हुन् । त्यसबाहेक गौमुखी गाउँपालिकाको ठूलाबेसीदेखि ऐरावती गाउँपालिकाको ऐरावतीसम्म करिब २० देखि २५ वटा ससाना फाँट छन् । जहाँ कृषिको उत्पादनका हिसाबले निकै उर्वर भूमि मानिन्छ । समथर परेका फाँटले जिल्लामा खाद्यान्नको गर्जो टारेका छन् । गहुँ, धान यहाँको मुख्य बाली हो भने पछिल्लो समय मौसमी तथा बेमौसमी तरकारी खेती पनि यही फाँटमा सुरु भएको छ ।
प्यूठानमा ६ हजार ५ सय ५० हेक्टरमा धान खेती गरिन्छ । धान फल्ने खेतमध्ये झिमरुकका फाँट मुख्य हुन् । करिव १ सय हेक्टर फाँटबाहेकका टारी खेत छन् । त्यसबाहेक ६ हजार ४ सय ५० हेक्टर हिस्सा फाँटले ओगटेको कृषि कार्यालयको तथ्यांक छ । कुल धान रोपाइँ हुनेमध्ये अधिकांश भूभाग झिमरुक फाँट रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका प्रमुख भास्कर पौडेलले बताउनुभयो । ‘प्यूठानमा अन्न उत्पादनमा यिनै फाँटको महत्त्व बढी छ,’ उहाँले भन्नुभयो, ‘तर, फाँट जोगाइराख्न चुनौती छ ।’ अन्न उत्पादन राम्रो हुने भए पनि पछिल्ला समय फाँट घट्दै गइरहेका छन् । जग्गा प्लटिङ गरेर बस्ती विस्तार बढेपछि झिमरुक फाँट घट्दै गएको उहाँले बताउनुभयो । अहिले फाँटको बीच–बीचसम्म सडक पुर्याएर बस्ती बसाल्न थालिएको पौडेलको दाबी छ । यसले जिल्लाको पर्यावरणमा समेत असर गरिरहेको उहाँले बताउनुभयो।