२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिनुभयाे।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान पर्नुभएकाे थियाे। अहिले भने उहाँलाई हृदयघात भएको थियो ।स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।
माओवादीको सल्लाहकार हुनुहुन्थ्याे सीता
वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुहुन्थ्याे । उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्याे। पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत हुनुभएकाे थियाे । पार्टीभित्रका संकट र विवाद समाधानमा उहाँले समन्वयकारी भूमिका निर्वाह समेत गर्नुभएकाे थियाे ।
अनलाइनखबरबाट साभार