राजेश जिसी
प्यूठान । ड्रागन फलमा प्यूठानका कृषकको आकर्षण बढ्दै गएको छ । रोजगारीको अवसरको खोजीमा युवाहरु भौतारीरहेको बेला प्युठानका युवा ड्रागन खेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।
मनमा इच्छा, चाहना र काम गर्ने जागँर भयो भने कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ प्यूठानका युवा नबिन श्रेष्ठ र लोक बहादुर गुरुङ । कुनै समय राम्रो आम्दानी हुने प्रविधी निर्माणको क्षेत्रमा काम गरेका पूण्यखोलाका नबिन श्रेष्ठ अहिले खेतीमा लाग्नुभएको हो ।
रोजगारी भन्दा ब्यबसायबाट दीर्घकालीन आम्दानी हुने भएपछि उहाले स्थानीय लोक बहादुर गरुङसँगको साझेदारीमा ड्रागन फ्रुटको खेती गर्न थाल्नुभएको हो । उहाले अहिले १ बिगाहमा सिउडी प्रजातीका ३ हजार ड्रागनका विरुवा लगाउनुभएको छ।

यी विरुवासँगै उहाले ड्रागनबाट राम्रो आम्दानी लिन थालेका छन् । कृषिमा केहि गर्ने र पछिल्लो समय बजारमा यो फलको माग उच्च रहेका कारण उहाहरु यो फलको व्यवसायिक उत्पादनमा लाग्नुभएको हो ।
बहु उपयोगी फलका रुपमा चिनिएको ड्रागन फलको खेतीमा लाग्दा छिमेकीले उहालाई यो खेती नगर्न धेरै सुझाए । तर, उहाले गरेरै देखाउने भन्दै यो खेतीमा लागिनै रहनुभयो। अहिले यो फार्म ड्रागन खेती गर्नेहरुका लागी अध्ययन केन्द्रको रुपमा पनि बिस्तार भएको छ । यो खेतीको अध्ययनका लागी प्यूठानका साथै छिमेकी जिल्ला रोल्पा, अर्घाखाँची, गुल्मीबाट किसान आउने गरेका छन् ।
पछिल्लो समय पहाडी जिल्लामा ड्रागन तर्फ किसानको आकर्षण बढ्दै गएको छ । कम सिंचाइ चाहिने र बजार मुल्य राम्रो भएका कारण प्यूठानका किसान यो खेतीतर्फ आकर्षित हुदै गएका हुन् । उनीहरुको सिको गर्दे प्यूठानका केही युवाहरु पनि ड्रागन खेतीमा लागेका एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख भाष्कर पौडेलले बताउनुभयो।
पसिना आफनै देशमा बगाए केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ श्रेष्ठ र गुरुङ । उहाहरुले जस्तै मेहनत गरे रोजगारीको खोजीमा देश विदेश भौतारिरहनु पर्ने थिएन । तर, कृषकमुखी सरकारी निति नहुँदा भने किसानले पछिल्लो समय कृषिबाट खासै प्रगति गर्न सकेका छैनन् ।
