राजेश जिसी
प्यूठान । पढाइसकेपछि सबैको रहर राम्रो जागिर खाने हुन्छ । हातमा शैक्षिक योग्यताको प्रमाणपत्र लिएर जागिरका लागि दौडधूप हुन्छ । तर, प्यूठानका एक व्यक्तिले भने अधिकृत तहको जागिर छोडेर कृषि पेशामा होमिएका छन् ।‘मलाइ अमेरिका यहि मलाइ,जापान पनि यहि,मलाई बेलायत नि यहि’ पशुपति शर्माको गितले भनेजस्तै उनमा चरितार्थ भएको छ । देशमा रोजगारीका अबसर नभएको भन्दै दैनिक हजारौ युवा बिदेशपलायन हुने गरेका छन् । तर, प्यूठान नगरपालिका १ खैराका भोज बहादुर बस्नेत भने झिमरुक जलबिद्युत आयोजनामा अधिकृत स्तरको जागिर छोडेर माछापालन व्यवसायमा लाग्नुभएकाे छ।

उहाँले बिगत ३ वर्षदेखि झिमरुक मस्यपालन तथा एकिकृत कृषिफर्म सञ्चालन गर्नुभएकाे छ। जागिरबाट राम्रै तलब आउने भएपनि जागिर भन्दा व्यवसाय उत्तम रहेका कारण माछापालन व्यव्सायमा होमिएको बस्नेत बताउनुहुन्छ।उहाँले ४४ रोपनी जग्गामा १२ वटा पोखरी निर्माण गरि माछापालन गरिरहनुभएकाे छ । त्यसका साथै उहाँले भैसी, बंगुर, हास, कुखरासमेत पाल्दै आउनुभएकाे छ। उहाँले वार्षिक ८० कुन्टल माछा उत्पादन गर्दै आउनुभएकाे छ।

उहाँले माछा बिक्रिबाट वार्षिक ३५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल हुनुभएकाे छ । जिल्लामा माछाको माग उच्च रहेपनि माग अनुसार माछा उत्पादन हुन नसकेको बस्नेत बताउनुहुन्छ ।पछिल्लो समय प्यूठानमा माछापालन गर्ने ब्यक्ति कतिछन भन्ने एकिङ्ग तथ्याङक नभएपनि माछापालन गर्नेको सख्यामा बृद्धि हुदै गएको छ । जिल्लालाई माछामा आत्मनिर्भर तथा युवालाई आकर्षित गर्न एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले सहयोग गर्दै आएको छ ।माछापालन व्यवसायमा राम्रो संभाबना रहेपनि उत्पादन नहुदाँ जिल्लामा तराइ तथा भारतबाट माछा भित्रिने गरेको छ भने करोडौं रुपैयाँ बाहिरीएको छ । माछापालन वयवसायमा युवाहरुलाई आकर्षित गर्न सके युवाशक्तिलाई स्वदेशमै रोक्न सकिन्थ्यो ।