प्युठान,१८ साउन । भालुबाङ – प्युठान सडक खण्डको गर्जेनीमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।अप्ठ्यारो ठाउँ भएकाले पैदल हिँड्न समेत मुश्किल परेको छ ।
भालुवाङ-प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समेत समस्या भएको छ ।
तल माडी नदी र माथि भिर भएको ठाउँमा हिँड्ने समेत बाटो नभएका कारण यात्रुलाई सकस भएको हो । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको पत्रकार बासुदेव गिरीले बताउनुभयो।

बुधबार राती ठूला ढुङ्गा सहितको पहिरो खसेपछि मान्छे हिँड्ने बाटो समेत नभएको उहाले बताउनु भयो ।
गिरीले भन्नुभयो,“वर्षायाम लाग्नासाथ यो बाटोमा यात्रा नै सकस हुन्छ, पटक पटक अबरुद्ध हुने यो बाटो खुलाउन सरोकारवालाको सक्रीय पहल देखिएन।’
जिल्ला ट्राफिक कार्यालय देबिस्थानका प्रहरी नायव निरिक्षक चन्द्र बहादुर के सि का ३/४ वटा एक्साभेटर मार्फत पहिरो पन्छाउने काम भईरहे पनि आज नै बाटो सुचारु हुने संभावना न्यून छ।
पहाडको खोंचमा रहेको यो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उक्त भीरको बाटोमा यात्रा गर्दा विगतमा दर्जनौं यात्रुले दुर्घटनामा परेर ज्यान गुमाइसकेको जिल्ला प्रहरीको तथ्याङ्कले देखाउँछ ।

