सरकार गठन भएको सात वर्षको अवधिमा भएका सात वटा विकासका काम भन्न कठिन छ, अधिकांश महत्वाकांक्षी योजना ल्याइए तर, कार्यान्वयन तहमा पुग्न सकेनन् । तर, यो अवधिमा सरकार भने निकै फेरिए । सत्ताको मोहका कारण नाागरिकसँग चुनावमा गरिएका वाचा भने लत्याइदिएका छन् । चर्चामै आउनको लागि सरकारमा रहेका बेला केही महत्वकांक्षी योजना ल्याएतापनि हाल ती योजना अलपत्र अवस्थामा छन् । विशेष गरी अध्ययनबिनै हचुवाकै भरमा लोकप्रियताका लागि नयाँ कार्यक्रम घोषणा गर्ने हुँदा ती कार्यक्रमहरु कार्यान्वयनतर्फ जान नसकेको अवस्था छ । त्यसैगरी पटक पटक नयाँ सरकार गठन भइरहनु र अघिल्लो सरकारले ल्याएको बजेटको पछिल्लो सरकारले अपनत्व नलिँदा यस्ता लोकप्रिय कार्यक्रमहरु कार्यान्वयन हुन सकेका छैनन् । अर्गानिक कर्णाली घोषणा, बैंक खाता छोरीको सुरक्षा जिवनभरिको, एक विद्यालय एक स्वास्थ्यकर्मी लगायतका महत्वपूर्ण कार्यक्रमहरु अहिले ओझेलमा छन् ।
बरु यो अवधिमा प्रदेशले चार÷चार वटा प्रदेश प्रमुख र मुख्यमन्त्री पाइसकेको छ भने ४५ जना मन्त्री बनिसकेका छन् । ४० सदस्यीय प्रदेश सभा रहेको कर्णालीमा सरकार स्थापनाको पहिलो कार्यकालमा दुई मुख्यमन्त्री र २१ मन्त्री बने भने दोस्रो कार्यकालको डेढ वर्षको अवधिमै दुई मुख्यमन्त्री र २० जना मन्त्री बनेका छन् ।
कर्णाली प्रदेश सरकार गठनको सुरुवातमा नेकपा एमाले–माओवादी बिचको सत्ता समीकरणमा सरकार बनेको थियो, जसको मुख्यमन्त्री माओवादीका महेन्द्रबहादुर शाही बने । नेकपाको सरकार सत्तामा रहेको बेला प्रतिपक्षान नेपाली कांग्रेस थियो ।
पहिलो कार्यकालमा कर्णालीमा नयाँ तथा केन्द्रमै प्रभाव पर्ने गरि केही राजनीतिक अभ्यास भए । एमालेका चार जना सांसदले दलको ह्वीप उल्लघंन गरेर ‘फ्लोर क्रस’ समेत गरे । त्यसपश्चात तत्कालिन मुख्यमन्त्री शाहीलाई समर्थन गरेको कारण ६ महिना पछि प्रत्यक्षतर्फ एक सिट जितेको नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बने ।
यसरी आफुले चुनेका प्रतिनिधिहरु विकास निर्माणका कामहरु भन्दा पनि सरकार फेर्नमै व्यस्त बनेपछि नागरिकहरुमा निरासा छाइरहेको छ । नागरिक अगुवा पिताम्वर ढकालले आफुहरुले चुनेका प्रतिनिधिहरु बढीजसो सरकार निर्माणमै रुमलिएको बताउँछन् । ‘प्रदेश सरकार पनि संघकै छायाँ सरकार जस्तो देखियो’ उनी भन्छन् , ‘नागरिकका चाहनाअनुरुप काम गर्न नसकेको अवस्था छ ।’
नागरिक मात्र होइन प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद समेत प्रदेश सरकार बनेको उपलब्धि भनेको सरकार निर्माण मात्र रहेको बताउँछन् । राप्रपाकी सांसद सन्तोषी शाहीले सांसद भएको दुई वर्षको अवधिमा सरकारबाट गतिलो कुनै काम पनि नदेखिएको बताउँछिन् । ‘जनमानसमा एउटा छुट्टै आसा थियो प्रदेश सरकारप्रति तर, दिन प्रतिदिन खस्किदै गएको छ’ शाही भन्छिन्, ‘मैले सांसद भएदेखि नजिकबाट देखेको कुरा पनि यही हो मन्त्री को बन्ने भन्नेमा मात्र होडबाजी छ , विकास र नागरिकका आवश्यकतासँग कुनै पनि मतलव नै छैन ।’