रविन विश्वकर्मा, प्युठान
काठमाडौं महानगरपालिकाले प्युठानको झिमरुक गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।
महानगरले गत असोज ४ गते सुचना जारी गर्दै एम्बुलेन्स माग गर्न पालिकाहरुलाई आह्वान गरेको थियो । आह्वान गरे लगत्तै झिमरुक गाँउपालिकाले एम्बुलेन्स माग गरेको थियो ।तोकिएको मापदण्ड अनुसार झिमरुक गाँउपालिका छनौटमा परेको महानगरपालिकाले जनाएको छ । सोही अनुसार महानरले झिमरुक गाँउपालिकालाई निस्शुल्क एम्बुलेन्स दिने निर्णय गरेको हो ।
एम्बुलेन्स प्राप्त गर्नको लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिम तोकिएका सम्पुर्ण कागजात,ब्यवस्था तथा प्रकृयाहरु अबलम्बन गरि काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।
पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पालिकालाई एम्बुलेन्स दिने गरि छनौट गरेकोमा काठमाडौं महानगरपालिकालाई धन्यवाद दिनु भएको छ । झिमरुक गाउँपालिकाको आफ्नै मातहत चल्ने एम्बुलेन्स छैन । अहिले गाउँपालिकाभित्र लुम्बिनी प्रदेश सरकारले बाधिकोट स्वास्थ्य चौकिलाई उपलब्ध गराएको एम्बुलेन्स र भारतिय रातदुतावासले भुप शैनिक संगठनलाई प्रदान गरेको २ वटा एम्बुलेन्स मार्फत सेबा दिई रहेका छन्।
विशेष गरि यीनै एम्बुलेन्स मार्फत पालिकामा रहेका सुत्केरी हुने महिलाहरुलाई स्वास्थ्य संस्था सम्म पुर्याउने गरेको उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी भए बापत संघिय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने २ हजार रुपैयाँमा गाउँपालिकाको तर्फबाट २ हजार रुपैयाँ थप गरि उपलब्ध गराउदै आएको उहाँले बताउनुभयो । एम्बुलेन्स प्राप्त भएपछि आगामि गाउँसभाबाट निर्णय गरेर जिल्ला अस्पतालको पहुँच भन्दा बाहिर रहेका पालिकाभित्रका गरीबी,विपन्न,अशक्त,असहाय,सुत्केरी महिला तथा अन्य नागरिकहरुलाई प्रत्यक्ष लाभ मिल्ने गरि सेवा प्रदान गर्ने उहाँको भनाइ छ । महानगरपालिकाबाट प्राप्त हुने एम्बुलेन्स, सेबा बिस्तारमा कोशे ढुङ्गा सावित हुने बिश्वास समेत लिएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।