प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ । साथै प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।
कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठन नभएको भन्दै उसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।