नवीन कक्षपति
भोलि २०८१ असार २८ गते प्रचण्डले सदनबाट विश्वासको मत लिदै छन्,यद्यपि सरकारले विश्वासको मत पाउने सम्भावना न्युन छ। त्यसपश्चात सरकार बनाउन ७६ को धारा २ वा ३ मा जाने अन्योल छ, यसमा फेरि दलहरूले सम्मानित राष्ट्रपतिलाई विवादमा मुछ्ने तान्ने हुनकी भन्ने आम चासो र चिन्ताको विषय छ। भने अर्को पछिल्लो आम निर्वाचनयता मात्रै झन्डै दुई दर्जन पटक मन्त्रिपरिषद पुनर्गठन चौतर्फी अस्तव्यस्तता र निराशामा देश गुज्रिरहेका बेला दुई ठूला दल एकठाउँमा आउँदा नेपाली समाजको एउटा तप्का आशावादी भएको छ ।
तर दुई ठुला बर्ग शत्रु मिलेर सरकार बनाउँदा मुलुकमा प्रतिपक्ष कमजोर हुने,स्वच्छताको खतरा हुने,
राजनीतिक अराजकता बढ्न सक्ने लोकतन्त्रनै ख़तरामा पर्नसक्ने देखिन्छ। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भन्ने पनि पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार चलाउने अभ्यास बिरलै पाईन्छ। लोकतन्त्रको मर्म भनेको बलियो प्रतिपक्ष हुनु हो। त्यसैले अब बन्ने गठबन्धन लाई अप्रकृतिक भनिएको हो।
ठुलो दल काङ्ग्रेस एमालेको सत्तास्वार्थ मिलेको हुदा यो गठबन्धन दक्षिणपन्थी अवसरवादबाट प्रेरित छ। जनयुद्ध जनआन्दोलन र मधेस बिद्रोह बाट प्राप्त संविधानलाई ध्वस्त बनाउने व्यवस्था नै उल्ट्याएर पुरानै अवस्थामा फर्काउन खोज्दैछन्। काङ्ग्रेसको पहिल्यैदेखि धार्मिक राज्यतिर झुकाव,एमालेको समावेशी,समानुपातिक प्रणालीप्रतिको अरुचि,सविधान ध्वस्त बनाउन ओलीको प्रतिगामी पहिचान र गठवन्धनले संघीय निर्वाचन प्रणालीलाई अस्थिरताको कारक मानी व्यवस्था हेरफेर गर्ने भनी सहमति गरेको हुदा यो गठबन्धन दक्षिणपन्थी अवसरवाद नै हो।
प्रचण्डको अस्थिरताका विरुद्ध अर्को राजनीति अस्थिरता र इगोको बीजारोपण भएको छ। यसको शुरुआत केपी ओली र शेरबहादुर देउवाले गर्दैछन्। दलगत स्वार्थका लागि गठबन्धन फेरबदल गरेर राजनीति स्थायित्वको कुरा गर्ने सविधान संशोधनको कुरा गर्ने। यो सरासर बेइमानी जनता झुक्याउने कुरा हो।।
सरकारको स्थायित्व राजनीति संस्कारले दिने हो कि प्रणालीले ? प्रणालीको के दोष। ताजा उदाहरण हेरौ छिमेकी देश भारतको त्यहाँ प्रणाली भन्दा राजनीति संस्कारले काम गर्यो। सरकार बनाउन एकल बहुमत नभए पनि ठुलो दलको हैसियतले साना दलको समर्थनमा मोदी फेरि प्रधानमन्त्रीमा दोहोरीए काङ्ग्रेस बलियो प्रतिपक्ष भएर बस्यो। त्यहाँ राजनीति संस्कारले काम नगरेर प्रणालीले काम गरेका दिन फेरि राहुल अरु प्रधानमन्त्री हुनसक्छन्।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभव र अभ्यास छोटो छ। संविधान लागु भएको एक दशकभन्दा कम समयमा यसको मुल्यांकन गर्ने समय भइसकेको देखिन्न। यद्यपि संविधानको प्रबन्ध,राजनीति दलहरुको संस्कृति,अभ्यास,सोच र कार्यशैली आदिका कारण शासन प्रणाली स्थिर बन्न नसकेको हो। दलहरूले शासन व्यवस्था र संविधानमा मात्र कमजोरी देख्ने आफू अनुकूल नभए मुलुक समृद्ध र स्थिर नहुने तर्कमा आधार देखिन्न।
त्यसैले प्रचण्डको सत्तासहयात्री फेरबदल कुनै नौलो र ठुलो कुरो होइन। प्रचण्ड अस्थिरताको पात्र मात्र हुन् सत्ता र पार्टी जोगाउन उनले जेपनि गर्ने नै भए। सत्ता भन्दा बाहिर बस्नै नसक्ने सरकार ढाल्ने र बनाउने खेलमा लाग्ने खेलाडी काङ्ग्रेस एमाले दल सबैभन्दा बढी अस्थिर सरकारको जिम्मेवार छन्।