प्युठानमा बदेललाई मार्नका लागि राखिएको सुतली बम विस्फोट हुँदा एक जना बालक घाईते भएका छन् । मल्लरानी गाउँपालिका वडा नम्वर ३ धरमपानीमा शनिबार दिउँसो बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बम विस्फोट हुँदा बालकको दाहिने खुट्टाको पैतला क्षति भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
घाईते बालकलाई जिल्ला अस्पताल विजुवारमा उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।प्रहरीले अनुसन्धानका लागि मल्लरानी गाउँपालिका वडा नम्वर ३ धरमपानी बस्ने ५८ वर्षीय मोहन बहादुर केसीलाई पक्राउ गरेको छ । बदेललाई मार्नका लागि प्रयोग गरिएको सुतली बम जस्तो देखिने आलु आकारको थप दुई वटा बमलाई बर्द बहादुर गणको टोलीले आईतबार डिस्पोज गरेको छ