प्युठान। प्युठान नगरपालिका–८ गेजवाङमा नगरपालिकाको पहलमा सञ्चालित बेसार उद्योगमा नगरप्रमुख विष्णु बहादुर योगी र उप–प्रमुख देवेन्द्र ब्रह्माले अनुगमन तथा निरीक्षण गरेका छन्।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगको व्यवस्थापन, उत्पादन क्षमता र आगामी योजनाबारे नगर नेतृत्वले जानकारी लिएको हो।
नगरपालिकाले सञ्चालनमा ल्याएको यो बेसार उद्योगबाट उत्पादन हुने बेसारले आगामी वर्षहरूमा प्युठान नगरपालिकामात्र नभई सम्पूर्ण प्युठान जिल्लालाई नै बेसार उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

अनुगमनका क्रममा प्रमुख तथा उप–प्रमुखले उद्योगको भौतिक पूर्वाधार, उपकरणको अवस्था, उत्पादन प्रक्रिया तथा गुणस्तर व्यवस्थापनको बारेमा विस्तृत जानकारी लिएका थिए।
स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै कृषि–आधारित उद्योगलाई विस्तार गर्ने योजनासहित सुरु गरिएको यो अभियानले गाउँ–सहरमा रोजगारी र आर्थिक सम्भावना वृद्धि गर्ने अपेक्षा गरिएको छ। नगरपालिकाले उद्योगको थप सुदृढीकरणका लागि आवश्यक सहयोग र समन्वय जारी राख्ने प्रतिबद्धता जनाएको छ।


