प्युठान । नेपाली कम्युनिष्ट पार्टी नौबहिनी गाउँपालिकाको आयोजनामा पुस ९ गते नौबहिनी गाउँपालिका–लुङ बहानेमा एकता सन्देश सभा भव्य रूपमा सम्पन्न भएको छ।
सभामा पार्टीका केन्द्रीय तथा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पार्टीका नेता कृष्ण ध्वज खड्का रहनुभएको थियो भने विशेष अतिथिका रूपमा संविधानसभाका सदस्य तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता नारायण प्रसाद अधिकारी अजित सिंह, भोज विक्रम बुढा मगर सहभागी हुनुभएको थियो।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउने आधार एकता नै भएको बताउँदै वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

विशेष अतिथि डा. बुढा मगरले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरूबीच आपसी सहकार्य र एकता अपरिहार्य रहेको उल्लेख गर्दै जनताको अपेक्षा पूरा गर्ने दिशामा पार्टी अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले पार्टीभित्रको आपसी मतभेद अन्त्य गर्दै जनमुखी राजनीति र समाज परिवर्तनका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
सभाले नौबहिनी क्षेत्रमा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

