वीरगञ्ज । नेपालमा पहिलो पटक ‘हिन्दू पत्रकार संघ नेपाल’ नामक पत्रकारहरूको संगठन औपचारिक रूपमा स्थापना गरिएको छ।
देशको पत्रकारिता क्षेत्रमा ऐतिहासिक मानिएको यो संघको स्थापना कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको हो।
हिन्दू दर्शन, संस्कृति, मूल्य–मान्यता तथा सामाजिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ संघ स्थापना गरिएको आयोजकहरूले जनाएका छन्।
संघले पत्रकारितालाई सत्य, निष्पक्ष र जिम्मेवार बनाउँदै हिन्दू सभ्यता, संस्कार र राष्ट्रिय एकतालाई मजबुत बनाउने लक्ष्य लिएको बताइएको छ।
स्थापना कार्यक्रममा विभिन्न जिल्लाबाट आएका पत्रकार, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय पत्रकारितामा देखिएका विकृति, भ्रम र सांस्कृतिक अतिक्रमणका विरुद्ध सचेत पत्रकारिताको आवश्यकता औंल्याउँदै हिन्दू पत्रकार संघ नेपालले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
संघले आगामी दिनमा पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम, गोष्ठी, अन्तरक्रिया तथा हिन्दू संस्कृति र धर्मसँग सम्बन्धित विषयवस्तुमा अनुसन्धानमूलक समाचार सामग्री प्रकाशन गर्ने योजना बनाएको जनाएको छ।
कार्यक्रमका क्रममा संघको अस्थायी कार्यसमिति गठन गर्नुका साथै छिट्टै राष्ट्रिय सम्मेलन गरी पूर्ण कार्यसमिति घोषणा गरिने जानकारी पनि दिइएको छ। संघको स्थापना नेपालकै पत्रकारिता क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।


