३० जेठ, काठमाडौं । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले नर्वेजियन युवा स्ट्रइकर एर्लिङ हालान्डलाई अनुबन्ध गरेको छ ।
जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेल्दै आएका २१ वर्षीय हालान्डले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी २०२७ को समरसम्म सिटीमा रहनेछन् ।
सिटीका पूर्व खेलाडी अल्फी हालान्डका छोरा एर्लिङ हालान्ड २२ वर्षपछि आफ्नै बाबुको क्लबमा अनुबन्धित भएका हुन् ।
वर्तमान विश्व फुटबलका चर्चित युवा स्टार हालान्डले साढे दुई वर्ष डर्टमण्डमा रहँदा ८९ खेलमा ८६ गोल गरेका थिए । उनले जर्मन कप जित्नुका साथै बुण्डेसलिगा प्लेयर अफ दि सिजनको अवार्ड समेत जितेका थिए ।
‘यो म र मेरो परिवारको लागि गर्वको दिन हो’, सिटीसँग सम्झौता गरेपछि हालान्डले भने । हालान्डले सिटीका विश्वस्तरीय खेलाडी रहेको र पेप ग्वार्डिओला अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक मध्ये एक रहेको बताउँदै आफ्नो महत्वाकाँक्षा पूरा गर्न सही ठाउँमा पुगेको बताए ।
‘म गोल गर्न चाहन्छु र ट्रफी जित्न चाहन्छु । फुटबलकरो रुपमा अझ सुधार गर्न चाहन्छु र त्यो यहाँ गर्न सक्नेमा म विश्वस्त छु’, उनले भने ।
यस्तै सिटीका फुटबल निर्देशक टिकी बेगिरिस्टनले हालान्डलाई केही वर्षदेखि हेर्दै आएको र क्लबमा ल्याउदा पाउँदा उत्सहित रहेको बताए ।