३० जेठ, काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा मल नपाएका किसानका कष्टका बारेमा साढे ६ घण्टा लामो छलफल भयो । छलफलपछि प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी ‘स्थगन प्रस्ताव’ सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई मल उपलब्ध गराउन सबै उपाय लगाउन निर्देशन दिएको हो ।‘कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्न प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि गर्न आवश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’, छलफलपछि प्रतिनिधिसभाले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ ।