प्युठान, १० असार ।
ऐरावती गाउँपालिकामा मकैका खोष्टा(पोष्कर) बाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन गर्ने २० दिने सिपमुलक तालिम सम्पन्न भएको छ । ऐरावती गाउँपालिकाको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि.काठमाडौंको प्राविधिक सहयोगमा गत जेठ २३ गते देखी संचालन भएको तालिमको आज एक कार्यक्रम गरी समापन गरिएको हो ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठ, ऐरावती गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोकामगर, कार्यपालिका सदस्य सिता गैरे , पालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरु, प्रशिक्षक लगाएतको सहभागीता रहेको थियो ।
तालिममा पालिकाका विभिन्न वडाबाट १५ जना सहभागी हुनुभएको थियो । २० दिन सम्म चलेको तालिममा सहभागीलाई मकैको पोष्करबाट टोपी, ब्याग बनाउन सिकाएको तालिमका प्रशिक्षक डिला सिंजालीले बताउनुभयो ।
समापन कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोकामगरले तालिममा सिकेका कुराहरुलाई अभ्यासमा परिणत गर्न आग्रह गर्नुभयो । पालिकाले आर्थिक आयआर्जनमा जोडिनको लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठले खेर जाने मकैको पोष्कर सदुपयोग गरी टोपी, झोला लगाएतका सामाग्रीहरु बनेको देख्दा यो तालिम फलदाई भएको बताउनुभयो । आगामी दिनमा तालिममा सिकेको कुराहरुलाई प्रयोगमा लिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले तालिम थोरै दिन संचालन भएपनि उपलब्धीमुलक भएको बताउनुभयो । पालिकाले क्षमता अभिबृद्धिका लागि विभिन्न तालिमहरु गर्दै आएको बताउनुभयो । यो तालिम पश्चात मकैको पोष्करबाट टोपी,झोला लगाएतका सामाग्रीहरु उत्पादन हुनेमा विश्वास लिएको उहाँको भनाई छ ।