एक सय चार जनाले लिए सेवा
प्युठान, १ फाल्गुन ।
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, तथा आङ खस्ने समस्या भएका महिलाहरुका लागी निशुल्क स्क्रीनिङ्ग शिविर आज बरौलामा सम्पन्न भएको छ । पुरन्ठाँटी स्वास्थ्य चौकीमा भएको शिविरमा एक सय ४ जना महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी जाँच गरिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक सेरसिंह थापा मगरले जानकारी दिनुभयो । ऐरावती गाउँपालिकाको आयोजनामा उक्त शिविरको आयोजना गरिएको हो ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएपछि गाउँपालिकाले निशुल्क शिविरको आयोजना गरेको उहाँले बताउनुभयो । पाठेघरको मुखको क्यान्सरको जाँच, स्तन क्यान्सर, तथा आङ्ग खस्ने समस्या भएका महिलाहरुका लागी शिविर फलदायी भएको स्वास्थ्य शाखा सहसंयोजक थापाले बताउनुभयो । शिविरमा युटेरस पोल्याप्स फस्ट डिग्रीको १ जना, युटेरस पोल्याप्स सेकेण्ड डिग्रीको १ जना,युटेरस पोल्याप्स फोर्थ डिग्रीको १ जना र पिआईडी समस्या भएको ७ जना पत्ता लागेको समेत उहाँले बताउनुभयो । साथै १ जना सेवाग्राहीलाई रिङ्ग प्रेसरी राखिएको र २ जनालाई थप उपचारका लागि रिफर गरिएको उहाले बताउनुभयो । शिविरमा औषधिसमेत वितरण गरिएको थियो ।

गाउँपालिकाले धुवाङ्ग स्वास्थ्य चौकीमा पनि पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या भएकाहरुका लागी निशुल्क शिविर संचालन गर्ने स्वास्थ्य शाखा सहसंयोजक थापा मगरले बताउनुभयो ।


