सागर रिजाल
प्युठान,१ चैत ।
ऐरावती गाउँपालिकामा किसान सुचिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा बिहिबार किसान सुचिकरणका लागि छनौट भएका गणक तथा प्रविष्टकर्ताहरुको लागि अभिमुखिकरण दिईएको हो । गणक तथा प्रविष्टकर्ताहरुको क्षमता अभिवृद्धि गरी प्रभावकारी ढंगले पालिका भित्रका कृषकहरूलाई किसान सुचिकरणमा आवद्व गराउन अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रदिप ज्ञवालीले बताउनुभयो। किसान सुचिकरणको लागि ६ वटै वडाबाट गरी २५ जना गणक छनौट गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा किसान सुचिकरण गर्दा ध्यानदिनुपर्ने कुरा,विवरण संकलन तथा वेईभसाइटमा विवरण अप्डेट गर्ने तरिका,किसान सुचिकरणको महत्व लगाएका अन्य महत्वपूर्ण बिषयमा जानकारी गराइएको बताउनुभयो ।
गणकहरुले किसानहरुसंग कृषि,पशु तथा मत्स्य पालन सम्बन्धी विवरण संकलन गर्ने कृषि शाखा प्रमुख ज्ञवालीले बताउनुभयो । जसमा कृषकले उत्पादन गरेका बस्तु,उत्पादन तथा बजारीकरणको अवस्था,जमिन तथा बालिको क्षेत्रफल,कृषकको समस्या, उनीहरुको बार्षिक आम्दानी लगाएका अन्य महत्वपूर्ण प्रश्नहरुको आधारमा कृषकले उत्पादन गरेका हरेक बस्तु तथा बालीहरुको छुट्टाछुट्टै विवरण संकलन उहाँले बताउनुभयो । गत बर्ष १८ सय कृषकलाई किसान सुचिकरणमा आवद्ध गरीएकोमा यस आवमा पालिकाका २ हजार ८ सय ७६ जना कृषकलाई आवद्व गर्ने लक्ष्य रहेको ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले कुनै पनि कृषकलाई नछुटाई किसान सुचिकरणमा आवद्ध गराउन आग्रह गर्नुभयो । चालु आर्थिक बर्षको निति तथा कार्यक्रममा पालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गदै यी क्षेत्रको बिकास तथा प्रवद्र्धमा गाउँपालिका लागि पर्ने बताउनुभयो । संकलन विवरण अनुसार क्रमश किसानहरुको समस्यालाई सम्बोधन गर्ने अध्यक्ष शाहले प्रतिवद्धता जनाउनुभयो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमलाल विश्वकर्माले किसान सुचिकरणका लागि गाउँपालिकामा चालु आर्थिक बर्षमा २ लाख ४९ हजार रुपैंया बजेट विनियोजन भएको बताउनुभयो ।गणकहरु कृषकको घरघरमा पुगि प्रत्यक्ष विवरण लिने भएकाले पालिकाभित्रका कृषक,कृषि तथा पशुपालन,बस्तुको बजारी लगायतका क्षेत्रको वास्तविक अवस्था थाहा हुने बताउनुभयो । साथै विवरणले गाउँपालिकाको कार्यसम्पादनमा थप टेवा पुग्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष तथा गाउँपालिका स्तरीय किसान सुचिकरण ब्यवस्थापन सहजिकरण समिति संयोजक कृषण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य,बिषयगत शाखा प्रमुख,कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन पशु सेवा शाखा प्रमुख चन्द्र बहादुर जिसीले गर्नुभएको थियो ।