प्युठान,१० माघ । प्युठानको झिमरुक गाँउपालिका-१, सौतामारे तल्लो गाउँमा रहेको चन्द्रविकास प्राविमा शिक्षक छनौटका क्रममा विषयविज्ञ अमर प्राविकी शिक्षिका माया पन्थीले एकजना परीक्षार्थिलाई गलत उत्तरमा पनि पूरा नम्बर दिदैँ पुर्णाङ्क भेट्याउने गरि नम्बर दिएको थाहा पाएपछि प्रमुख प्रशासकीय अधिकृत कृष्णवहादुर थापाले परीक्षा रद्द गरिदिएका छन् ।
एमालेवाट निर्वाचित वडा न.१ का अध्यक्ष धुर्व खनालकी बुहारी चन्द्रकला खनाललाई शिक्षिका वनाउन पालिका अध्यक्ष पितवहादुर महतरा र खनालविच सहमति अनुसार उक्त कार्य भएको स्रोतको भनाई छ । त्यो सहमति कार्यान्वयन गर्न उक्त विद्यालयमा सदस्य रहेका वडा सदस्य शंकर पोख्रेललाई जिम्मा दिइयो। उनै वडा सदस्यकी श्रीमती माया पन्थीलाई गाउँपालिकाले विषयविज्ञको रुपमा छनौट गरेको थियो ।
पालिकाको अनुदान दरवन्दिका लागि २०८१ माघ ९ गते पालिकामा परीक्षा तोकिएको थियो । अध्यक्षहरुको समर्थन पाएकी चन्द्रकला १२ कक्षा मात्रै पास हुन् । उनीसंग प्रतिस्पर्धि थिइन विष्णा जिसी । जो सोही विद्यालयमा ८ वर्षदेखि निजी श्रोतमा पढाइरहेकी छन् भने उनी अङ्ग्रेजीमा विएड पास हुन् ।
विएड गरेकी जिसीलाई परीक्षामा हराउने सम्भावना थिएन । तर पालिका अध्यक्ष महतरा र वडा अध्यक्ष खनालको भरमा विषयविज्ञ माया पन्थीले प्रश्नहरु आउट गरिन र खनाललाई दिइन । मायाले निकालेका प्रश्नहरुमा खनालले पूर्णाङ्क नै प्राप्त गरिन । कतिसम्म भने उत्तर ठिक उल्टो लेखेका प्रश्नमा पनि मायाले पूरा अंक दिने र अर्कि प्रतिस्पर्धिको सहि उत्तरलाई पनि न्युनतम अंक दिएको पाइएको थियो।
सो कुराको सुइको पाएपछि प्रमुख प्रशासकीय अधिकृत कृष्णवहादुर थापाले उत्तर पुस्तिकाको परिक्षण गरे । परीक्षणमा प्रश्नहरु बाहिरिएको, मायाले निकालेको प्रश्नहरुमा सतप्रतिसत अंक पाएको, गलत उत्तरमा पनि अंक प्राप्त गरेको, अर्का प्रतिस्पर्धिलाई न्युनतमभन्दा कम अंक दिई परीक्षामा धाँधली गरेको निष्कर्षमा पुगेपछि उक्त परीक्षा रद्द गरिदिएका छन् ।
यसरी परीक्षामा धाँधली गर्ने विषय विज्ञलाई कानुन सम्वत् कार्वाही हुन्छ कि हुँदैन? त्यो भने हेर्न बाँकी छ । शिक्षा ऐनको दफा १७ वमोजिम त्यसरी परीक्षामा अनियमितता गरेको प्रमाणित भएमा कसुरको गम्भीरता हेरि एक लाख जरिवाना र छ महिना कैद हुने कानुनी व्यवस्था रहेको छ।यो समाचार समानान्तर अनलाइनबाट साभार हो।