७ चैत, बुटवल । कपिलवस्तुको महाराजगञ्जस्थित बर्गदवामा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
आज बिहान मन्दिरमा भजनका क्रममा भएको विवाद चर्किँदै जाँदा हिन्दू र मुस्लिम समुदायका युवाबीच झडपको अवस्था सिर्जना भएको थियो।
स्थिति बिग्रिन नदिन प्रशासनले आज दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्मका लागि भेला, सभा र जुलुसमा पूर्ण प्रतिबन्ध लगाएको हो।

प्रशासनका अनुसार निषेधाज्ञा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म लागू गरिएको छ।
राम नवमी र इद एकै समयमा परेकाले दुवै समुदायले धार्मिक गतिविधि गरिरहेका बेला माइकको आवाजलाई लिएर विवाद सुरु भएको बताइएको छ।
सो विवाद झडपमा परिणत हुँदा ढुंगा प्रहारसमेत भएको र ५ जना सामान्य घाइते भएका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार हाल स्थिति नियन्त्रणमा आइसकेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।
