प्युठान, २९ जेठ ।
ऐरावती गाउँपालिकामा राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षता, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक सुवास खड्का, ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकीय अधिकृत मेघराज सोनी ,राष्ट्रिय परिचयपत्र अभियान कार्यक्रमका सुपरभाईजर राजेन्द्र भट्ट , ऐरावती गाउँपालिकाका ६ वटै वडाका वडाअध्यक्ष, वडासचिव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र अभियानका बारेमा प्रस्तुतीकरण समेत राखिएको थियो । प्रस्तुतीकरण राख्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मेघराज सोनीले राष्ट्रिय परिचयपत्रको लक्ष्य, उदेश्य, विशेषता, महत्व, राष्ट्रिय परिचयपत्रका लागि आवश्यक कागजपत्रका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।
ऐरावतीमा अबको केही दिनमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सुरु समेत गरिने उहाँले बताउनुभयो । जिल्लामा छैटौ स्थानीय तहको रुपमा ऐरावतीमा यो अभियान संचालन गर्न लागिएको हो । प्रत्येक वडामा २ वटा स्टेशन राखी राष्ट्रिय परिचयपत्रको अफलाईन विवरण दर्ता गरिने प्रशासकीय अधिकृत सोनीले बताउनुभयो । दिनमा १ स्टेशनबाट ४० जनाको विवरण संकलन हुने उहाँले बताउनुभयो । यो अभियान एक वडामा १४ दिनसम्म चल्नेछ ।
कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले वडा स्तरमै राष्ट्रिय परिचयपत्र विवरण दर्ताको काम सुरु भएपछि यहाँका नागरिकलाई सहज हुने बताउनुभयो । अभियान संचालनका क्रममा हुने सहयोग र सहजीकरणका लागि प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रममा कोही नछुटी सेवा लिन आग्रह गर्नुभएको छ ।