जेठ ३१ ,प्युठान ।
ऐरावती गाउँपालिकामा रहेका आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । ऐरावती गाउँपालिकाको सहयोग तथा रेडियो माण्डवीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले आदिवासी जनजातिले आफ्ना कार्यक्रम आफै गर्न सक्ने गरी क्षमता विकास हुनुपर्ने बताउनुभयो । आफ्ना समस्या, कमजोरीलाई हल गर्दै आदिवासी जनजातिको क्षमता विकासमा लाग्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष अमर रेश्मीमगरले जनजातिहरुको हक अधिकारका लागि एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न समयमा भएका जनजाति आन्दोलनले जनजातिको हक अधिकार संविधानमा उल्लेख भएको बताउनुभयो ।
वडा नं. ५ का वडा अध्यक्ष चन्द्र बहादुर रोका मगरले ऐरावतीमा झण्डै ५० प्रतिशत जनजातीको बसोबास रहेको भन्दै जनजातिहरुको विकासका लागि लाग्नुपर्ने बताउनुभयो । पालिका स्तरमा जनजाति सञ्जाल गठन गरेर क्षमता विकास लगायतका गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष भरत बहादुर खड्का क्षेत्रीले शुभकामना मन्तव्य राख्दै जनजातिको भेषभुषा र भाषा लोम हुन थालेको बताउनुभयो । जनजातीको संस्कृतीलाई अवा संग्राहलयमा देखाउनुपर्ने अवस्था आएको भन्दै त्यसतर्फ सवै गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘विजुलीकोट मन्दिरमा दर्लामी मगर मुल पुजारी हुने गर्छन,’ उहाँले भन्नुभयो, ‘दर्लामी मगर खोज्न हम्मे हम्मे पर्छ, विस्तारै लोप हुँदै गएका छन् ।’
वडा नम्वर २ का वडा अध्यक्ष भिमेस घर्तिमगरले आदिवासी जनजातिहरुको क्षेत्रमा काम गर्नका लागि जिल्ला तहमा, पालिका तहमा संगठित भएर काम गर्नुपर्ने बताउनुभयो । २ दिने तालिममा सवै वडाबाट सहभागीहरु सहभागी भएका छन् ।