प्युठान,३२ जेठ ।
ऐरावती गाउँपालिकाकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता अभियान सुरु भएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजना , जिल्ला प्रशासन कार्यलय खलंगा प्युठान र ऐरावती गाउँपालिकाको समन्वयमा आजदेखी अभियान सुरु गरिएको हो । पहिलो चरणमा पालिकाका वडा नम्बर १,२ र ३ मा यो अभियान सुरु भएको हो । प्रत्येक वडामा २ वटा स्टेशन राखी राष्ट्रिय परिचयपत्रको अफलाईन विवरण संकलन गर्ने कार्य सुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका दर्ता अपरेटर राजन अर्यालले जानकारी दिनुभयो । वडामा अफलाईन विवरण संकलन पश्चात् जिल्ला प्रशासन कार्यालय खलंगामा गएर अनलाइन गरिने उहाले बताउनुभयो ।दिनमा १ स्टेशनबाट ४० जनाको विवरण संकलन हुनेछ ।
आज पहिलो दिन वडा नम्बर १ मा ९१ जना, वडा नम्बर २ मा ४१ जना र वडा नम्बर ३ मा ७१ जनाको विवरण संकलन गरिएको छ । केहि दिनमा पालिकाका अन्य वडामा पनि यो अभियान सुरु हुनेछ ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले वडा स्तरमै राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु भएपछि यहाँका नागरिकलाई सहज भएको बताउनुभयो । अभियान संचालनका क्रममा हुने सहयोग र सहजीकरणका लागि प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालय खलंगा पुग्नुपर्ने हुन्थ्यो अब त्यो समस्या टरेको उहाँको भनाइ छ ।
ऐरावती गाउँपालिकाका वार्ड नम्बर १ का वार्ड अध्यक्ष अमर रेस्मीमगरले प्रशासनिक कामले भौगोलिक रुपमा बिकट भएका यहाँका नागरिकहरुलाई वडामै सेवा पाउदा सहज भएको बताउनुभयो ।यसले गर्दा यहाँका सेवाग्राहीलाई आर्थिक बचत, समय बचत हुनका साथै सर्वसुलभ सेवा लिएको अनुभुती हुने उहाँले बताउनुभयो ।यो सेवाले आधुनिक र डिजिटल नेपालको आधारस्तम्भ खडा भएको समेत उहाँको भनाई छ । यो अभियान एक वडामा १४ दिनसम्म चल्नेछ ।