सुजल श्रेष्ठ
प्युठान, कात्तिक ४ गते । गौमुखी गाउँपालिका–१ अर्खा पैयुपाटाका मित्र थापाको घर ढुङ्गाले छाएको छ । वर्षौँ पहिले हजुरबुवाले बनाएको घर अहिलेसम्म छाउन परेको छैन । एक पटक ढुङ्गाले छाएको छाना लामो समय टिक्ने भएकाले पनि थापाको गाउँमा धेरैले ढुङ्गाको छाना लगाएका छन् ।
तर पछिल्लो समय नयाँ बन्ने घरमा ढुङ्गाको साटो जस्तापाताले घर छाउने गरिएको छ । आर्थिक रूपमा कम खर्चिलो हुने भएकाले गाउँमा जस्ताको छानाले घर छाउने गरिएको छ । स्थानीय हेमराज थापाका अनुसार पहिले गरिबले खरका छाना र धनीले ढुङ्गाको छाना लगाउने गर्दथे ।
“बाग्लुङको दर्लिङ, गुल्मीको अग्लुङबाट ढुङ्गा बोकाएर छाउने गरिन्थ्यो” थापाले भन्नुभयो, “एक पटक लगाएपछि वर्षौवर्ष टिक्छ ।” हावाहुरीले नउडाउने, वर्षौसम्म टिक्ने, गर्मी र जाडोमा मौसमअनुकुल हुने स्थानीय बताउँछन् ।
स्थानीय भुवनसिंह थापाले सजिलोले गर्दा गाउँमा जस्ताका छाना बढ्दैगएको बताउनुभयो । मेहनत र खर्च बढी लाग्ने भएकाले ढुङ्गाको छानो लगाउन छाडिएको उहाँको भनाइ छ । गाउँमा २० वर्षदेखि ७० वर्षसम्म पुराना ढुङ्गाले छाएको घर भेटिन्छन् ।
ढुङ्गाको छानो लगाउन छाडेपछि स्थानीयस्तरमा रहेका ढुङ्गाका खानी समेत बन्द हुँदैगएका छन् । गाउँका विभिन्न ठाउँमा ढुङ्गा खानी भए पनि अहिले निकाल्न छाडिएको स्थानीय मित्र थापाले बताउनुभयो ।
ढुङ्गा खानीबाट ढुङ्गा निकालेर अरु काममा प्रयोग गर्न सकेमा स्थानीयस्तरमा रोजगारी सिर्जना हुनसक्ने उहाँको भनाइ छ । “घर छाउन, भुईँमा बिछ्याउन, सिँढी बनाउन प्रयोग गर्न सकिने भए पनि अहिले प्रायः खानी बन्दजस्तै छ” थापाले भन्नुभयो ।