प्युठान, १२ असार ।
पोषणमैत्री स्थानीय तह घोषणाको लागि टोलबस्ती छनोट कार्यक्रम सम्पन्न भएको छ । ऐरावती गाउँपालिका बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत आज ऐरावती गाउँपालिका वडा नं ५ को वडा कार्यालयमा अन्र्तक्रिया कार्यक्रम गरी टोलबस्ती छनोट गरिएको हो । विषयगत शाखाका शाखाप्रमुख, टोलविकास समितिका पदाधिकारी र वडा समितिका पदाधिकारीको उपस्थिती रहेको कार्यक्रममा पोषण सम्बन्धी वडा नं ५ को बस्तु स्थिती विश्लेषण गरी सबै सुचकहरु माथी दोहोरो अन्र्तक्रिया गरिएको थियो ।
सन् २०३० सम्म पोषणमैत्री स्थानीय तह घोषणा गर्नको लागि पालिकाले गाउँ कार्यपालिकाको निर्णय अनुसार यस आर्थिक वर्षमा सुगम तथा पोषणमैत्री सुचकहरुको अवस्था राम्रो भएको ठाउँबाट संचालन हुने निर्णय बमोजिम वडा नं ५ बाट यो काम सुरु गरिएको ऐरावती गाउँपालिका बहुक्षेत्रीय पोषण कार्यक्रमका सम्पर्क व्यक्ति विनोद कुमार त्रिपाठीले बताउनुभयो ।
वडा कार्यालयमा भएको अन्र्तक्रिया कार्यक्रमबाट आर्थिक वर्ष ०७९/०८० मा ऐरावती गाउँपालिका वडा नं ५ को जाडी झिवाङ्गमा यस आर्थिक वर्षको कार्यक्रम संचालन हुने गरी टोलबस्ती छनोट गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । छनोट भएको टोलबस्तीमा पोषणमैत्री स्थानीय सुचकको आधारमा सुनौलो हजार दिनका आमाहरुलाई मागको आधारमा सुचकलाई टेवा पुग्ने गरी कार्यक्रम संचालन गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा ऐरावती गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष चन्द्रबहादुर रोकामगरले वडाको अन्य स्थान भन्दा जाडी र झिवाङ्गमा सुचकहरु पुरा भएको र केही पुरा हुन बाकी रहेकाले यो स्थानलाई छनोट गरेको बताउनुभयो । ऐरावती गाउँपालिका पोषणमैत्री स्थानीय तह घोषणा भएमा केन्द्र तथा प्रदेशबाट थप बजेटहरुको व्यवस्था समेत हुने उहाँले बताउनुभयो । जाडी झिवाङ्ग टोलबस्तीलाई पोषणमैत्री बनाउनका लागि सबैले सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभएको छ ।
पालिकाले आगामी दिनमा अन्य टोलबस्तीसंगै वडाहरुमा कार्यक्रम बिस्तार गर्ने योजना बनाएको ऐरावती गाउँपालिका बहुक्षेत्रीय पोषण कार्यक्रमका सम्पर्क व्यक्ति त्रिपाठीले बताउनुभयो ।